top of page

उत्सवभन्दा मानवता रोज्यो मेम्सा नेपालले

मिति: २०८३/०५/१७

झापा ।

वार्षिकोत्सव भन्नासाथ तडकभडक, केक काट्ने, मनोरञ्जन र औपचारिक कार्यक्रमको सम्झना आउँछ। तर झापामा सक्रिय मेची–महाकाली बुहारी संयुक्त आवाज (मेम्सा नेपाल) ले यसपटक आफ्नो वार्षिकोत्सवलाई फरक ढंगले मनाउने निर्णय गर्दै सामाजिक सेवाको अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।


संस्थाले आगामी भदौ १९ गते मनाउन लागेको वार्षिकोत्सवमा हुने अनावश्यक खर्च कटौती गरी सो रकम विपद्पीडित नागरिकको सहयोगमा लगाउने निर्णय गरेको हो। यही निर्णयअनुसार वार्षिकोत्सवका लागि छुट्याइएको रकमबाट बचत भएको रु. ४० हजार ५०५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको मेम्सा नेपालले जनाएको छ।


देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण नागरिकहरू पीडित भइरहेका बेला संस्थागत उत्सवमा ठूलो रकम खर्च गर्नु उपयुक्त नहुने निष्कर्षमा पुगेपछि यस्तो निर्णय गरिएको संस्थाले जनाएको छ।


मेम्सा नेपालको केन्द्रीय संस्था तथा संस्थापक अध्यक्ष, कोशी प्रदेश समिति, झापा जिल्ला समिति र दमक उपशाखा कार्यसमितिको संयुक्त आयोजनामा वार्षिकोत्सव मनाउने तयारी गरिएको थियो। तर विपद्को पीडामा रहेका नागरिकहरूको अवस्थालाई मध्यनजर गर्दै वार्षिकोत्सवलाई तडकभडक र मनोरञ्जनमा सीमित नराखी मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्ने निर्णय गरिएको हो।


‘आफ्नो खुसीमा खर्च हुने रकम पीडितको आँसु पुछ्न प्रयोग गरौँ’ भन्ने मानवीय सन्देशसहित मेम्सा नेपालले यस वर्षको वार्षिकोत्सवलाई विपद्पीडित नागरिकप्रतिको ऐक्यबद्धता र सेवाभावमा समर्पित गरेको छ।


संस्थाका अनुसार वार्षिकोत्सव आफ्नो स्थापना र उपलब्धिको उत्सव मनाउने अवसर मात्र होइन, समाजप्रतिको जिम्मेवारी सम्झने अवसर पनि हो। त्यसैले केक काटेर केही क्षणको खुसी मनाउनुभन्दा संकटमा परेका नागरिकका लागि थोरै भए पनि सहयोग गर्न सक्नु नै यस वर्षको वार्षिकोत्सवको वास्तविक अर्थ भएको संस्थाको भनाइ छ।


“उत्सवका लागि खर्च हुने रकमले कसैको घरमा राहत पुग्छ भने त्योभन्दा ठूलो उत्सव अरू हुन सक्दैन,” भन्ने भावनाका साथ संस्थाले आफ्नो निर्णयलाई अघि बढाएको जनाएको छ।


प्राकृतिक विपत्तिका कारण धेरै नागरिकले घर, सम्पत्ति तथा आफ्ना प्रियजनसमेत गुमाइरहेका बेला सामाजिक संघसंस्थाहरूले पनि आफ्नो भूमिका केवल कार्यक्रम आयोजना गर्नमा सीमित नराखी आवश्यकतामा परेकाहरूको साथमा उभिनुपर्ने मेम्सा नेपालको धारणा छ।


वार्षिकोत्सवका नाममा हुने खर्च कटौती गरेर विपद्पीडितका लागि सहयोग गर्ने मेम्सा नेपालको यो पहलले सामाजिक संस्थाको वास्तविक दायित्व उत्सव मनाउनु मात्र नभई समाजको दुःखमा साथ दिनु पनि हो भन्ने सन्देश दिएको छ।


आफ्नो खुसीभन्दा अरूको पीडालाई प्राथमिकता दिँदै मेम्सा नेपालले यस वर्षको वार्षिकोत्सवलाई केवल उत्सवमा सीमित नराखी मानवता, सेवा र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाएको छ।



 
 
 

1 Comment

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Sep 04
Rated 5 out of 5 stars.

Awesome 👏

Like
bottom of page