मेम्ब्सा को ६ औँ साधारण सभा तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
मितिः २०८३/०६/०३
बिर्तामोड, झापा ।
महिला अधिकार, सामाजिक न्याय तथा सशक्तीकरणका क्षेत्रमा क्रियाशील संस्था मेचीमहाकाली बुहारी संयुक्त आवाजको ६ औँ साधारण सभा तथा प्रमाणपत्र वितरण कार्यक्रम बिर्तामोड–५, झापास्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपसभापति शान्ता रोक्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाकी कोशी प्रदेश संयोजक पिंकी थापा विशिष्ट अतिथि तथा झापा जिल्ला अध्यक्ष गङ्गा भट्टराई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
साधारण सभामा संस्थाको वार्षिक प्रगति, आगामी कार्ययोजना तथा महिला तथा बालबालिकाको अधिकार संरक्षणसँग सम्बन्धित अभियानबारे छलफल गरिएको थियो। सभामा महिला हिंसा, सामाजिक विभेद तथा पीडितहरूको अधिकारका विषयमा संस्थाले गर्दै आएका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
कार्यक्रमको सुरुवातमा झापा जिल्ला अध्यक्ष गङ्गा भट्टराईले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य र अभियानलाई प्रभावकारी बनाउन सदस्यहरूबीचको एकता, सहकार्य र सक्रिय सहभागिताको आवश्यकता औँल्याउनुभयो। त्यसपछि कोशी प्रदेश संयोजक पिंकी थापाले संस्थाको नियमावली वाचन गर्नुभएको थियो।
साधारण सभामा केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा महिला तथा बालबालिकाको अधिकार संरक्षण, घरेलु हिंसाविरुद्धको अभियान, सामाजिक न्याय, पीडित तथा प्रभावितहरूको पक्षमा पैरवी तथा सामाजिक रूपान्तरणका लागि संस्थाले सञ्चालन गरेका विभिन्न गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो। साथै, आगामी दिनमा संस्थाका कार्यक्रम तथा अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने कार्ययोजनाबारे समेत जानकारी गराइएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपसभापति तथा प्रमुख अतिथि शान्ता रोक्काले सामाजिक सेवा र महिला सशक्तीकरणका क्षेत्रमा संस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले महिला तथा बालबालिकाको अधिकार संरक्षण र सामाजिक न्यायका पक्षमा सञ्चालन भइरहेका अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा थप प्रभावकारी ढङ्गले अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा झापा जिल्ला सह–संयोजक तथा कार्यक्रम सञ्चालिका रोशनी खनाल अधिकारी, सुनसरी जिल्ला उपाध्यक्ष लक्ष्मी अधिकारी काफ्ले, कमल उपशाखा संयोजक चन्द्रकला सुब्बा, दमक उपशाखा संयोजक अलिशा ओली लगायत संस्थाका सल्लाहकार, कार्यसमिति सदस्य तथा आजीवन सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साधारण सभाको अवसरमा संस्थाका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र प्राप्त पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्य, नीति तथा अभियानलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य तथा सम्पूर्ण शुभेच्छुकप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
”ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।"
महिला अधिकार, सामाजिक न्याय, सेवा र एकताको अभियानलाई थप सशक्त बनाउँदै समाज रूपान्तरणमा निरन्तर योगदान गर्ने साझा प्रतिबद्धताका साथ ६ औँ साधारण सभा सम्पन्न भएको हो।









Comments