top of page

छ महिनाको गर्भ बोकेकी मौसमीको रहस्यमय मृत्यु : न्यायको खोजीमा MEMBSA, ले प्रहरीलाई बुझाइयो ज्ञापनपत्र


मिति: २०८३/०२/२९,

बिर्तामोड/काकरभिट्टा ।


मेचीनगर–७, सतिघट्टाकी ६ महिनाकी गर्भवती मौसमी कायस्थाको मृत्यु ले यतिबेला झापा मात्रै होइन, सिंगो समाजलाई स्तब्ध बनाएको छ। जीवनको नयाँ अध्यायको प्रतीक्षामा रहेकी एक युवती र उनको गर्भमा हुर्किरहेको निर्दोष शिशुको भविष्य एकै क्षणमा समाप्त भएपछि घटना गम्भीर चासो र बहसको विषय बनेको छ।


प्राप्त जानकारी अनुसार मौसमी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। तर, उनको मृत्यु केवल आत्महत्याको घटनामा सीमित नरहेको भन्दै स्थानीयवासी, अधिकारकर्मी तथा सामाजिक संघसंस्थाहरूले घटनाको निष्पक्ष, स्वतन्त्र र गहिरो अनुसन्धान गर्न माग गरिरहेका छन्।


यही क्रममा मेची–महाकाली बुहारी संयुक्त आवाज (MEMBSA) ले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै इलाका प्रहरी कार्यालय काकरभिट्टामा ज्ञापनपत्र बुझाएको छ। संगठनले कुनै व्यक्ति वा पक्षलाई पूर्वाग्रहका आधारमा दोषी ठहर गर्ने नभई सत्यतथ्य बाहिर ल्याई कानुनअनुसार न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।


ज्ञापनपत्र बुझाउने टोलीमा झापा जिल्ला सह–संयोजक रोशनी खनाल, सदस्यहरू निर्मला नेपाल र प्रमिला उप्रेती, आजीवन सदस्य मनु गौतम कर्की, साथै नयाँ बिहानी आमा समूहकी कमला कडरिया र मेनुका बजगाईँ सहभागी थिए।


MEMBSA का अनुसार पीडितको पक्षमा सडकमा आवाज उठाउनु आवश्यक भए पनि न्यायको अन्तिम गन्तव्य कानुनी प्रक्रिया नै हो। त्यसैले संगठनले प्रहरी प्रशासनलाई कुनै दबाब, प्रभाव वा पहुँचबाट मुक्त भएर निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ। “आवाज उठाउनु हाम्रो दायित्व हो, तर न्याय सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो,” MEMBSA को भनाइ छ।


संगठनले मौसमीको परिवारले सत्य र न्यायको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न सरोकारवाला निकायलाई संवेदनशील बन्न पनि आग्रह गरेको छ। हाल अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको र कानुनी प्रक्रिया सक्रिय भएको जानकारीलाई सकारात्मक रूपमा लिँदै MEMBSA ले सत्य बाहिर आउने विश्वास व्यक्त गरेको छ।


महिला, बालबालिका तथा उत्पीडित समुदायका पक्षमा आवाज उठाउँदै आएको MEMBSA ले विगतदेखि नै महिला हिंसा, बाल अधिकार, लैङ्गिक न्याय, शिक्षा, सामाजिक उत्तरदायित्व र मानवीय सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। संगठनले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध अभियान सञ्चालन गर्नुका साथै विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण, न्यानो कपडा सहयोग, खाद्यान्न वितरण, महिला सशक्तीकरण तथा सामाजिक न्यायका सवालमा विभिन्न तहका सरकारी निकायसँग पहल गर्दै आएको छ। 


मौसमी कायस्थाको मृत्यु प्रकरणमा पनि MEMBSA को सन्देश स्पष्ट छ— “सत्य लुक्नु हुँदैन, न्याय रोकिनु हुँदैन। पीडितको पक्षमा आवाज उठाउने र कानुनी बाटोबाट न्याय सुनिश्चित गराउने अभियान निरन्तर जारी रहनेछ।”


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।



 
 
 

1 Comment

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Jun 12
Rated 5 out of 5 stars.

Awesome

Like
bottom of page