top of page

वार्षिकोत्सवको खर्च कटौती गर्दै विपद् प्रभावितका लागि सहयोगमा जुट्यो मेची–महाकाली बुहारी संयुक्त आवाज बारा


बारा । मेची–महाकाली बुहारी संयुक्त आवाज बारा परिवारले आफ्नो वार्षिकोत्सवको अवसरमा हुने खर्च कटौती गर्दै हालैको प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ।


संस्थाले आफ्नो स्थापना कालदेखि नै वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा नभई असहाय, पीडित तथा संकटमा परेका नागरिकको दुःखमा मलहम लगाउने अवसरका रूपमा मनाउँदै आएको जनाएको छ। सोही मानवीय भावनालाई निरन्तरता दिँदै यस वर्षको वार्षिकोत्सवमा गरिने अनावश्यक खर्च कटौती गरी विपद् प्रभावित नागरिकको राहतमा सहयोग गर्ने निर्णय गरिएको हो।


२०८३ साल भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले युथ अफ निजगढको सहकार्यमा संस्थाले आफ्नो तर्फबाट सहयोग रकम पठाएको अध्यक्ष चन्द्रिका पुलामी मगरले जानकारी दिइन्।


अध्यक्ष मगरले भनिन्, “हामीले गर्ने सहयोग रकम सानो हुन सक्छ, तर विपद्को समयमा पीडित परिवारका लागि यही सानो सहयोग पनि ठूलो भरोसा बन्न सक्छ। वार्षिकोत्सवमा गरिने खर्चलाई केही कटौती गरेर दुःखमा परेका नागरिकका लागि सहयोग गर्न पाउनु नै हाम्रो लागि ठूलो सन्तुष्टिको विषय हो।”


संस्थाले विपद्बाट प्रभावित परिवारको चुलो बल्न सकोस्, बालबालिकाले तातो पानी र आवश्यक खाद्यान्न पाउन सकून् तथा संकटको घडीमा उनीहरूले आफूहरू एक्लो नभएको महसुस गर्न सकून् भन्ने अपेक्षा व्यक्त गरेको छ। साथै, विपद्मा अझै फसेका नागरिक तथा जीवित व्यक्तिहरूको यथाशीघ्र उद्धार गर्न सक्ने शक्ति र साहस उद्धारकर्मीलाई प्राप्त होस् भन्दै संस्थाले उद्धार भइसकेका घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति मेची–महाकाली बुहारी संयुक्त आवाज बारा परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस दुःखद् घडीलाई सहन सक्ने धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ। संस्थाले विपद्को समयमा सरकार तथा सम्बन्धित निकायको प्रयाससँगै आ–आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्न, राहत तथा उद्धार कार्यमा हातेमालो गर्न र मानवीय सेवामा जुट्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।


मेची–महाकाली बुहारी संयुक्त आवाज बारा परिवारका अनुसार, मानवताको सेवा कुनै विशेष दिन वा अवसरमा मात्र सीमित हुने विषय होइन; दुःखमा परेका नागरिकको साथमा उभिनु नै वास्तविक उत्सव र मानवीयताको पहिचान हो।



 
 
 

1 Comment

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Sep 02
Rated 5 out of 5 stars.

Great job

Like
bottom of page