इटहरी: मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) कोशी प्रदेशद्वारा लैंगिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज
- Dec 5, 2024
- 3 min read
इटहरी, मंसिर २०:
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) कोशी प्रदेशद्वारा कानुनी सचेतना कार्यक्रम इटहरी–१२ स्थित पूर्वाञ्चल क्याफे, खनारमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले महिला हिंसा, यौन दुर्व्यवहार, तथा अन्य लैंगिक असमानताका मुद्दाहरूमा कानुनी जानकारी पुर्याउँदै समाजमा चेतना फैलाउने उद्देश्य राखेको थियो। कार्यक्रमको अध्यक्षता MEMBSA कोशी प्रदेश अध्यक्ष पिंकी थापा ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले (पुंका) उपस्थित रहनुभएको थियो। सहजीकरणका लागि अधिवक्ता तथा MEMBSA की पूर्व प्रदेश प्रमुख शोभा बजगाईं को विशेष भूमिका रहेको थियो।
कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले “लैंगिक हिंसा विरुद्धको अभियान” लेखिएको ब्यानर पढेर गर्नुभएको थियो। आफ्नो सम्बोधनमा काफ्लेले विगत वर्षमा कोशी प्रदेशमा मात्रै ४५० वटा लैंगिक हिंसाका घटनाहरू दर्ता भएको तथ्य प्रस्तुत गर्दै यस प्रकारका घटनाहरू रोक्न MEMBSA ले खेलिरहेको भूमिकालाई प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “लैंगिक हिंसाको शिकार भएका महिलाहरू, बालबालिका तथा अन्य पीडितहरूको लागि MEMBSA एक विश्वासको केन्द्र बनेको छ। यस अभियानमार्फत कानुनी सचेतना मात्र नभई समाजमा परिवर्तन ल्याउने दिशामा सघाउन हामी निरन्तर क्रियाशील छौं।”
काफ्लेले संस्थापक अध्यक्ष यमु शर्मा पौडेल को योगदानको पनि खुलेर प्रशंसा गर्नुभयो। उहाँले MEMBSA लाई एक जिल्लाबाट राष्ट्रिय स्तरमा फैलाउन र शोषित तथा पीडितहरूको लागि भरोसाको संस्था बनाउन पौडेलले खेलेको भूमिकाको महत्त्व औंल्याउनुभयो।
कार्यक्रमका विशेष प्रशिक्षक अधिवक्ता शोभा बजगाईंले यौन हिंसा र नेपालको संविधानमा निर्दिष्ट कानुनी व्यवस्था तथा कानुनी प्रक्रियाबारे विस्तृत रूपमा जानकारी गराउनुभयो। ३३ वर्षअघि संयुक्त राष्ट्र संघले पारित गरी ११६ देशमा लागू गरिएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमि पनि उहाँले सहभागीहरूलाई बताउनुभयो।
मोरङ जिल्ला उपाध्यक्ष सुशिला सुवेदी ले तनाव व्यवस्थापनका उपायहरूबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले दैनिक जीवनमा देखा पर्ने मानसिक तनावलाई नियन्त्रण गर्दै आत्मविश्वास वृद्धि गर्न सकिने उपायहरूमा जोड दिनुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै MEMBSA कोशी प्रदेश अध्यक्ष पिंकी थापाले कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्नुभयो। उहाँले भन्नुभयो, “यस प्रकारका कार्यक्रमले कानुनी अन्योल चिर्न र महिलाहरूलाई सशक्त बनाउँदै न्यायको पहुँच पुर्याउन मद्दत गर्नेछ। हामी सबैको सक्रिय सहभागिताले अझ राम्रो परिणाम दिन्छ भन्ने विश्वास लिएका छौं।”
कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधिहरू, MEMBSA का सदस्यहरू तथा महिला अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कानुनी जानकारी र व्यावहारिक प्रशिक्षण अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिए। एक सहभागीले भन्नुभयो, “लैंगिक हिंसाको विषयमा कानुनी प्रक्रिया, आफ्ना अधिकार र न्यायका सम्भावनाहरूबारे यहाँबाट महत्त्वपूर्ण जानकारी प्राप्त गरियो। यसले हामीलाई हिंसाका घटनाहरू विरुद्ध बोल्न र संघर्ष गर्न प्रेरित गरेको छ।”
MEMBSA को यस अभियानले गाउँदेखि शहरसम्म कानुनी सचेतना पुर्याउने र हिंसाको शिकार भएकाहरूलाई न्याय दिलाउन सहकार्य गर्ने उद्देश्यलाई अझ मजबुत बनाएको छ। कार्यक्रमले लैंगिक हिंसा र महिला सशक्तिकरणका मुद्दाहरूलाई गहन रूपमा उजागर गरेको छ।MEMBSA कोशी प्रदेश अध्यक्ष पिंकी थापाको नेतृत्वमा आयोजित यस प्रकारका अभियानहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा झापा जिल्ला संयोजक गंगादेवी भट्टराई, सह–संयोजक रोशनी अधिकारी खनाल,मोरङ जिल्ला संयोजक,तारा घिमिर, सनसरी संयोजक हरिमाया कार्की,कमल गाँउपालिका उपशाखाकी संयोजक चन्द्रकला सुब्बा,धरान उपशाखा संयोजक अन्जना थापा, दमक उपशाखा उपाध्यक्ष चम्पा दाहाल,सनसरी जिल्ला उपाध्यक्ष लक्ष्मी अधिकारी,पत्रकार भरत प्रसाई, पुर्वाञ्चल ग्रुपका संस्थापक अध्यक्ष दामोदर विडारी लगायतको उपस्थिती रहेको थियो।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


Great work 👍👍